काठमाडौं । आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा आर्सनलले वेस्ट ह्याम युनाइटेडलाई २-० गोलअन्तरले पराजित गरेको छ ।
आर्सनलका लागि डेक्लान राइसले ३८औं मिनेटमा तथा बुकायो साकाले ६७औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।
जितपछि आर्सनल ७ खेलमा १६ अंकसहित शीर्षस्थानमा उक्लिएको छ । वेस्टह्याम ४ अंकसहित १९औं स्थानमा छ ।
म्यान्चेस्टर युनाइटेडले घरेलु मैदानमा भएको खेलमा सन्डरल्यान्डलाई २-० ले हराएको हो । युनाइटेडको जितमा मेसन माउन्ट र बेन्जामिन सेस्कोले १-१ गोल गरे ।
माउन्टले आठौं मिनेटमा तथा सेस्कोले ३१औं मिनेटमा गोल गर्दै पहिलो हाफमा नै दोब्बर अग्रतामा राखेका थिए । त्यसपछि भने गोल भएनन् ।
जितपछि ७ खेलमा १० अंक भएको युनाइटेड नवौं स्थानमा छ । ११ अंक रहेको सन्डरल्यान्ड सातौं स्थानमा यथावत् छ ।
त्यस्तै टोटनहामले पनि लिड्स युनाइटेडमाथि २-१ को जित हासिल गरेको छ ।
२३औं मिनेटमा माथिस तेलले गोल गर्दै टोटनहामलाई अग्रता दिलाएका थिए । ३४औं मिनेटमा लिड्सका नोआ ओकाफोरले गोल गर्दै खेल बराबरीमा ल्याए ।
५७औं मिनेटमा मोहमद कुडुसले गोल गर्दै टोटनहामलाई जित दिलाए ।
जितपछि ७ खेलमा १४ अंक भएको टोटनहाम तेस्रो स्थानमा छ भने ८ अंक भएको लिड्स १३औं स्थानमा छ ।