विर्तामोड । झापामा अविरल वर्षापछिको बाढीका कारण कृषि क्षेत्रमा साढे सात करोडभन्दा बढीको क्षति भएको छ ।
गत असोज १८ गतेदेखि २० गतेसम्म आएको अविरल वर्षापछिको बाढीले डुबान, कटान लगायतले कृषिबाली क्षति पु¥याउँदा रू सात करोड ६० लाख २८ हजार दुई सय २० बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर बिष्टले जानकारी दिए ।
झापाको छ वटा पालिकाको पाँच सय १२ दशमलव ६३ हेक्टरमा लगाइएको धान, केरा, आलु र तरकारी बालीमा क्षति हुँदा सात सय ४९ कृषक प्रभावित भएको उनले बताए ।
झापा गाउँपालिकामा सबैभन्दा धेरै तीन सय ६५ दशमलव २७ हेक्टरमा लगाइएको कृषिबालीमा क्षति भएको छ । झापा गाउँपालिका–१, २ र ३ का चार सय ३१ कृषकले लगाएको धान, आलु र केरा खेतीमा क्षति हुँदा रू पाँच करोड १४ लाख ७४ हजार दुई सय ४० बराबरको क्षति भएको प्रमुख बिष्टले जानकारी दिए ।
गौरीगञ्ज गाउँपालिका–१ र २ का ५८ कृषकले ४५ दशमलव २२ हेक्टरमा लगाएको धानबालीमा क्षति हुँदा रू ७९ लाख ८८ हजार तीन सय १० बराबरको क्षति भएको छ ।
शिवशताक्षी नगरपालिका–३, ४, ५ र ७ का एक सय ७५ कृषकले ७३ दशमलव १३ हेक्टरमा लगाएको धान र तरकारीमा क्षति हुँदा रू ९१ लाख ५५ हजार पाँच सय ६० बराबरको क्षति भएको छ ।
भद्रपुर नगरपालिका–३ का ४६ कृषकले १७ दशमलव ३६ हेक्टरमा लगाएको धान र तरकारी बालीमा क्षति हुँदा रू ५५ लाख ६० हजार नौ सय ६० बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।
यस्तै गौरादह नगरपालिका–५ र ६ मा १५ कृषकले लगाएको चार दशमलव ७८ हेक्टरमा लगाएको धान बालीमा क्षति हुँदा रू आठ लाख ४४ हजार आठ सय ७० बराबरको क्षति भएको छ भने कनकाई नगरपालिका–१, ३, ५, ६ र ८ का २४ कृषकले ६ दशमलव ८७ हेक्टरमा लगाएको धान बालीमा क्षति हुँदा रू १० लाख चार हजार दुई सय ८० बराबरको क्षति भएको कार्यालयले जनाएको छ ।