झापा बुद्धशान्तिका जीवनाथ अधिकारी उमेरले ५२ पुगे।गाउँमा हुने खुल्ला म्याराथनका “एकल बिजेता”।
जीवनभर आफू र आफ्नो ठाउँको नाम राख्न प्रयत्नरत अधिकारी यतिबेला मेची -महाकाली दौडेर छाती चौंडा बनाएर आफ्नो ठाउँ फर्कदैछन्।
उनले २२ दिनमा १०५० किलोमिटर दुरी पार गरेर सशक्त परिचय बनाएका छन् । आधा शताब्दी पार गरेका अधिकारीले दैनिक औसत ४७ किलोमिटरका दरले दौड भरेका हुन् ।
झापा जिल्लाको उत्तरपुर्वी कुनोमा बिभिन्न कालखण्डमा बनेका चर्चा भन्दा उचो परिचय बोकेर फर्कदैछन् जीवनाथ यसपाली।
अहिले सम्झँदा गडिगाउँ माविको त्यो खेल मैदान जीवनाथका लागी साँघुरो रहेछ र उनले आफ्नो उडान मुलकभर भरे।
मेरो मगजमा यो संवाद अहिले पनि स्पष्ट छ-“यस्पालि सक्दिन भाई म” उनले भने।
“होइन दाइ, तपाईंले छोड्न हुन्न” मैले भनेको चाँही दाइले मान्लान् जस्तै गरी मैले अनुरोध गरेँ।
यद्यपि उनी आफ्नो विचार र निर्णयमा सधैं कटिबद्ध थिए।मैले बुझेसम्म उनी निर्णय अन्तिम घडीमा मात्रै गर्थे वा भनौं अन्तिम क्षणमा टुङ्गो लाउने निर्णय उनले पहिल्यै तय गरेर बस्थे।
झल्झली याद छ, गडिगाउँ माविको मैदानमा ७ फन्को लाएपछि बल्ल जीव दाइले रफ्तार लिन्थे। अरु घाँटी र पिँडूलाका नशा तन्काएर थाक्दा उनी तङ्रीएको झैँ देखिन्थे।
जीवन दाइ! जिवन दाइ!! हुटिङ शुरु हुन्थ्यो।
“यो जीवेले जवान दौड कहिलै नछोड्ने भो “,उनका सहपाठी र गाउँलेहरु खासखुस कुरा गरेको सुनिन्थ्यो।
साँस्कृतिक र खेलकुदका गतिविधि नियाल्न बनाइएको स्टेजमा बसेका प्रमुख अतिथिलाई हेडसरले कुरा सुनाउथे। “यो मान्छेले जवान दौड जितेको १२ साल भो,कहिल्यै थाक्दैन आघुँदेखि चै कुद्दिन भन्दैछ”।
निकै सालसम्म यस्ता संवादहरु गडिगाउँ माविमा गुन्जिए।
त्यो आवाज गडिगाउँ मावि र साविक शान्तिनगरको घेराले थिचिरह्यो।
“म बैकुण्ठ मानन्धरबाट प्रेरणा लिएको मान्छे हु, तर अहिले भेट्रेन म्याराथन हुन्छ भने म सबैलाई उछिन्छु” भन्दै चोकमा गफ गरेको धेरै पटक धेरैले सुनेका छन् ।
तर उनका ती कुराले कसैलाई पनि तबसम्म छोएन जबसम्म उनले मेचीपुलबाट आफ्ना पाइला चालेनन्।
बुढेसकालमा गफ लायो जिवेले भन्ने सम्म भेटिए। मेची-माहाकाली कुदेर पार गर्ने कुरा जीवनाथको चियाको कप होइन भन्ने धेरैलाई लागिरह्यो। आखिर अधिकारीले सबैलाई फ्लप खुवाउँदै यो यात्रा तय गरेका छन् ।
उमेरले आधा शताब्दी नाघेसी हेमन्त रानाको गीत जस्तै ४० कटेसी रमाउला भनेर आफ्नो दैनिकी भुल्नेहरु धेरै छन् ।
तर जीवनाथमा रहेको परिचय बदल्ने हुटहुटी आफैंले पुरा गरेका छन् ।
सुगम झापाको दुर्गम भूगोलमा गायन, कलाकारिता, वा केही तरक्की गर्नेहरु नभएका भने होइनन् तर कसैले पनि यो स्थानका लागी स्थायी परिचय बनाउन नसकेको भने पक्का हो।
ठुटेबर ढलेपछि शान्तिनगरले स्थायी परिचय पाउन नसकेको खडेरीमा जीवनाथ नयाँ पाउला बनेर फर्केका छन् ।बधाई छ जीवन दाइ!