वैदेशिक रोजगारीमा गएका १३ सय जनाभन्दा बढी नेपाली श्रमिकले गुमाए ज्यान

काठमाडौं । वैदेशिक रोजगारीमा गएका १३ सय जनाभन्दा बढी नेपाली श्रमिकले बितेको एक वर्षमा ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष ०८०/०८१ मा वैदेशिक रोजगारमा गएका १ हजार ३४६ श्रमिकले ज्यान गुमाएका हुन् ।

यो तथ्यांक स्विकृति लिएर गएर मृत्यु भएका श्रमिकहरुको संख्यामात्रै हो । बोर्डका अनुसार गत आर्थिक वर्ष ०८०/०८१ मा वर्ष सबैभन्दा धेरै विभिन्न रोग र विरामीका कारण श्रमिकको ज्यान गएको छ । जसअनुसार ३२१ जनाको विरामी र रोग लागेर भएको छ ।

गत एक वर्षमा हृदयघातबाट १९९ जनाले ज्यान गुमाएका छन् । त्यस्तै १९२ जनाको आत्महत्या, १५७ जनाको प्राकृतिक मृत्यु, १५७ जनाको सडकमा दुर्घटनाबाट ज्यान गुमेको छ । त्यस्तै ९२ जनाको अन्य कारण र ४६ जना कार्यस्थल दुर्घटनामा ज्यान गुमाएका छन् ।

मृत्युको कारण

No Data Found

बोर्डका निर्देशक टीकाराम ढकालले वैदेशिक रोजगारीमा गएका श्रमिकको मृत्युदरमा यस वर्ष पनि कमी नआएको बताउँछन् । ‘रोजगारीमा खोजीमा गएका श्रमिकले परदेशमा ज्यान गुमाउनु परिरहेको अवस्था फेरिएको छैन । यो वर्ष पनि मृत्युदरमा कमी आएन’, उनी भन्छन् ।

निर्देशक ढकालका अनुसार ज्यान गुमाउनेमा सबैभन्दा धेरै मलेशिया र खाडी राष्ट्रहरुमा छन् । खाडीका राष्ट्रमा कतार, साउदी, यूएई, कुबेत, ओमनमा श्रमिकको मृत्युदर धेरै छ ।

वितेको एक वर्षमा ७ लाख ४१ हजार विदेश गएका थिए । जसमा ६ लाख ६१ हजार पुरुष र ८० हजार महिला थिए । वार्षिक करिब ७ लाख नेपाली वैदेशिक रोजगारमा जाने गरेका छन् ।

परदेशमा दैनिक ४ जनाले गुमाउँछन् ज्यान

सरकारी तथ्यांक अनुसार वैदेशिक रोजगारमा गएकाहरुमध्ये औसतमा वार्षिक १ हजार जना र दैनिक ४ ले ज्यान गुमाउँछन् । वैदेशिक रोजगारीमा जानेहरुको संख्यामा बढोत्तरी भएसँगै त्यहाँ ज्यान गुमाउनेको संख्या बर्सेनि बढ्दै गएको तथ्यांकले देखाउँछ ।

तथ्यांकका अनुसार आर्थिक वर्ष ०७८/०७९ देखि ०८०/०८१ सम्म ३ हजार ८८७ श्रमिकले ज्यान गुमाएका छन् ।

आर्थिक वर्ष ०७८/०७९ मा १ हजार ४७९ ज्यान गुमाए भने ०७९/०८० मा १ हजार ३० ज्यान गुमाए । आर्थिक वर्ष ०८०/०८१ मा भने १ हजार ३४६ जनाले ज्यान गुमाए  ।

मृतक संख्या

No Data Found

ज्यान गुमाउनेमा अदक्ष श्रमिक धेरै

वैदेशिक रोजगारीमा हुने श्रमिकको मृत्युको कारण अदक्ष श्रमिक पनि मानिन्छ । नेपालबाट बर्सेनि ठूलो संख्यामा अदक्ष श्रमिकहरु विदेश जाँदा पनि मृत्युदर बढी रहेको वैदेशिक रोजगार मामलाका जानकारहरु बताउँछन् ।

गत आर्थिक वर्ष ०८०/०८१ मा मात्र अदक्ष १ लाख ४५ हजार र सामान्य सीप सिकेका ५ लाख ३२ हजार गए । तर अर्धदक्ष ६० हजार, व्यवसायिक सीप सिकेका र उच्च दक्ष ७३२ जनामात्रै वैदेशिक रोजगारीमा गए । ‘वैदेशिक रोजगारीमा मृत्यु भएका हुन धेरै अदक्ष श्रमिक छन् । नेपाललले दक्ष श्रमिक पठाउन नथालेसम्म मृत्युदरमा कमी आउँदैन’, श्रम विज्ञ लुइँटेल भन्छन् ।

विदेशमा ज्यान गुमाए पनि श्रम स्वीकृति लिएर गएका श्रमिकका परिवारलेमात्र क्षतिपूर्ति पाउँछन् । श्रम स्वीकृति अवधिभित्र श्रमिकले ज्यान गुमाए बोर्डले ७ लाख रुपैयाँ क्षतिपूर्ति दिने गरेको छ ।

बोर्डका अनुसार बितेको एक वर्षमा विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारलाई ६९ करोड ९९ लाख रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको छ ।

श्रम विज्ञ डा. सोमप्रसाद लुईटेलले परदेशमा श्रमिकले अकालमै जीवन गुमाउनु परेको परिदृश्य नफेरिएको बताउँछन् । ‘भविष्यको खोजीमा गएका युवाहरुले परदेशमा सस्तो मृत्युवरण गरिरहेको कुरा साह्रै विडम्बना हो’, उनी भन्छन् ।

विज्ञ लुइटेलले वैदेशिक रोजगारीमा हुने मृत्युको दर घटाउन सकिने बताउँछन् । त्यसका लागि श्रमिकलाई विदेश जानुपूर्व दिइने अभिमुखीकरण तालिमलाई प्रभावकारी बनाउनुपर्ने उनी बताउँछन् ।

‘श्रम गन्तव्य मुलुक हुन सक्ने सम्भावित जोखिम र दुर्घटनाबारे पहिले नै श्रमिकलाई सचेतना दिन जरुरी छ’, उनी भन्छन्, ‘कार्यस्थलमा पालना गर्नुपर्ने सुरक्षाका मापदण्ड, सम्बन्धित देशको ट्राफिक नियम, सम्बन्धित देशको भाषा, नियम कानुनहरु सबै बुझाएरमात्र पठाउनु पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति