काठमाडौं । सर्लाहीको हरिपूर्वामा एक युवकले गोली हानेर पत्नीको हत्या गरेका छन्। उनले चलाएको गोली लागेर उनका बुबा समेत घाइते भएका प्रहरीले जनाएको छ।
गएराति पौने २ बजे हरिपूर्वा नगरपालिका–५ का २७ वर्षीय धिरेन्द्र यादवले आफ्नी २३ वर्षीया पत्नी चित्रलेखा यादवको गोली हानेर हत्या गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
चित्रलेखाको टाउको र आँखामा दुई गोली लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको थियो भने धिरेन्द्रका बुवा ५४ वर्षीय रामदिनेश यादवको हातको कुइँनामा गोली लागेर घाइते छन् ।
वैदेशिक रोजगारी कुवेत गएका उनी एक महिना अघि फर्किएका थिए । उनले पत्नीलाई हत्या गर्नुको कारण भने खुलेको छैन ।