केर्खा घटना: १२ घण्टापछि शव उठाइयो, बिहान ५ बजेदेखि यातायात सञ्चालनमा

बिर्तामोड । कमल गाउँपालिका-३ केरखामा दुर्घटनामा परेका नातिनी र हजुरबुबाको शव १२ घण्टापछि उठाईएको छ ।

हिजो साँझ भएको दुर्घटनामा मृत्यु भएका सोही स्थानका १२ बर्षकी नातिनी कृपा लिम्बू र उनका हजुरबुबा ६१ बर्षका टेकबहादुर लिम्बूको मृत्यु भएको थियोे ।

1000030021

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार झापाबाट काठमाडौं जाँदै गरेको प्र न १-०१-००१ ख ४३३१ नम्बरको यात्रुबाहक बसले साइकलमा घर फर्किदै गरेका उनिहरुलाई ठक्कर दिएको थियो । ठक्करबाट उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो ।

उनीहरुको मृत्यु भएपछि पीडित परिवारले त्यस स्थानमा यातायात अवरुद्ध पार्नुका साथै शवलाई सोही स्थानमा राखेर प्रदर्शन गरेका थिए ।

आक्रोशित स्थानीयले केरखामा रहेको ट्राफिक र प्रहरी बीटमा आगजनी गरेका छन् । उनीहरुले ढुङगामुडा गर्दै सो स्थानको प्रहरी बिट र ट्राफिक प्रहरी बिटमा ढुङ्गामुडा, तोडफोड र आगजनी गरेका थिए ।

स्थानीयले ढुङ्गामुडा गर्दा घटनास्थल नजिकै रहेको मे १ ख २७४४ नं. को र अन्य दुइवटा यात्रुबाहक बस तोडफोड गरेका थिए ।

स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले दर्जनौ सेल अश्रुग्यास प्रहार गरेकाे थियो । घटनामा ९ जना प्रहरी घाइते भएका थिए ।

घटनालाई साम्य बनाउन स्थानीय तहका जनप्रतिनिधिको सक्रियतामा बैठक बसेपनि निष्कर्षमा पुगेको थिएन । बिहान ५ बजसम्म चलेको वार्तामा भने पीडित परिवार शव उठाउन तयार रहेका हुन । अहिले शव पोष्टमार्टमको लागि दमक लगिएको छ ।

पीडित परिवारलाई अधिकतम क्षतिपूर्ति उपलब्ध गराउने, घटनाको निष्पक्ष छानविन गर्ने लगायतका सहमति भएको प्रहरीले जनाएको छ । सहमतिपछि यातायात सञ्चालनमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति