बुधबारे । जेनजि आन्दोलनका क्रममा व्यापक तोडफोड र आगजनीका कारण बुद्धशान्ति गाउँपालिकाको प्रशासनिक संरचना पूर्णरूपमा ध्वस्त भएपछि पालिका अध्यक्ष मनोज प्रसाईंले नागरिकलाई तत्कालीन अवस्थाबारे विस्तृत जानकारी गराएका छन्।
अध्यक्ष प्रसाईंले आइतबार जारी गरेको विज्ञप्तिमा आन्दोलन प्रारम्भिक चरणमा सुशासन र भ्रष्टाचारविरुद्ध शान्तिपूर्ण स्वरूपमा अघि बढेपनि “कतिपय अराजक प्रवृत्तिका व्यक्तिहरूको संलग्नताले” आन्दोलन हिंसात्मक रूपमा परिणत भएको टिप्पणी गरेका छन्।
उनका अनुसार आन्दोलनको उत्कर्षसँगै मुलुकका ऐतिहासिक सम्पदादेखि स्थानीय तहका संरचना र नागरिक सेवासम्बद्ध कार्यालय खरानीमा परिणत भए, जसले बुद्धशान्ति गाउँपालिकाको सम्पूर्ण प्रशासनिक संयन्त्र तत्काल प्रयोग अयोग्य बनेको छ। “आम नागरिकलाई सेवा दिन नसकिएको असुविधाप्रति पालिकाको जिम्मेवार प्रमुखका हैसियतले गहिरो क्षमायाचना गर्दछु,” विज्ञप्तिमा उल्लेख छ।
आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष प्रसाईंले शोकसन्तप्त परिवारसँग सहानुभूति व्यक्त गरेका छन्।
“देशको राजनीतिक संक्रमणकालीन घटनाक्रमले युवाको रगत माग्नु परेको वास्तविकता अत्यन्त मर्माहत छ,” उनले भनेका छन्।
आन्दोलनको बीचमा सुरक्षाकर्मी अभावका कारण चोरी, डकैती र अन्य आपराधिक गतिविधिले स्थानीयवासीमा त्रास सिर्जना गरेको भएपनि समाजसेवी र युवाले स्वस्फूर्त रूपमा सुरक्षा समिति गठन गरी समुदायलाई भयमुक्त बनाउन महत्त्वपूर्ण भूमिका खेलेको प्रसाईंले स्मरण गरेका छन्। हाल इलाका प्रहरी कार्यालय बुद्धशान्तिका सुरक्षाकर्मी पुनःकार्यरत भइसकेको र सम्पूर्ण सुरक्षा संयन्त्रलाई सक्रिय बनाउन पहल भइरहेको उनको भनाइ छ।
गाउँपालिका हाल क्षतिको विवरण संकलन र मुचुल्का तयारीमा जुटिरहेको जनाइएको छ। अध्यक्ष प्रसाईंले केही दिनभित्रै जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज र बुद्धशान्तिबासीको साझा उपस्थिति र सहभागितामा पुनर्निर्माण अभियान प्रारम्भ गर्ने प्रतिबद्धता जनाएका छन्। “बुद्धशान्ति पुनःनिर्माण हाम्रो सामूहिक दायित्व हो। छिट्टै सेवाहरूलाई पूर्ववत् अवस्थामा ल्याउँदै नागरिकलाई सहज र निर्वाध सेवा प्रवाह गर्ने हाम्रो प्रमुख लक्ष्य हुनेछ,” विज्ञप्तिमा भनिएको छ।