काठमाडौं । सन् २०२६ मा हुने ९८औँ एकेडेमी अवार्ड (ओस्कर अवार्ड)को अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालबाट ‘अञ्जिला’ सिफारिस भएको छ ।
द एकेडेमी अफ मोसन पिक्चर आर्टस एन्ड साइन्सेस (द अस्कर) अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले बिहीबार प्रेस नोट जारी गर्दै मिलन चाम्सले निर्देशन गरेको ‘अञ्जिला’ सिफारिस भएको जानकारी दिएको हो ।
समितिका अध्यक्ष विमल पौडेलले बिहीबार जारी गरेको प्रेस नोटअनुसार यस वर्ष ओस्करमा प्रतिस्पर्धा गर्नका लागि दुई नेपाली कथानक चलचित्र ‘गुन्यु चोलो’ र ‘अञ्जिला’ प्राप्त भएका थिए ।
दुवै चलचित्रको मूल्यांकनपछि प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राखेर ‘अञ्जिला’ छनोट गरिएको उनले बताएका छन् ।