मोदीले दिए संविधान दिवसको शुभकामना, प्रधानमन्त्रीले भनिन्– निर्वाचन उच्च प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई वर्तमान नेपाल सरकारको उच्च प्राथमिकतामा निर्वाचन रहेको बताएकी छन् ।

बिहीबार (असोज २) भारतीय प्रधानमन्त्री मोदीसँगको टेलिफोन वार्तामा उनले आउँदो फागुन २१ गतेका निम्ति घोषित प्रतिनिधिसभा निर्वाचन सरकारको सबैभन्दा बढी प्राथमिकतामा रहेको बताएकी हुन् ।

परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार, प्रधानमन्त्री कार्कीले टेलिफोन वार्तामा हालैको ‘जेनजी’को प्रदर्शनका बारेमा भारतीय समकक्षीलाई जानकारी गराएकी थिइन् । उनले जेनजी प्रदर्शनकारीको मागलाई सम्बोधन गर्दै वर्तमान सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई उच्च प्राथमिकतामा राखेको बताइन् ।

टेलिफोन वार्तामा प्रधानमन्त्री कार्कीले आफू जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासनका निम्ति दृढ संकल्पका साथ अघि बढ्ने बताइन् ।

त्यसक्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपाल सरकारको प्राथमिकताअनुसार पूर्ण समर्थन र सहयोगको आश्वासन दिए । मोदीले नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकामा कार्कीलाई बधाई दिएका थिए ।

भारतीय प्रधानमन्त्रीले केही दिनअघि युवाको प्रदर्शनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । यो महत्त्वपूर्ण घडीमा भारत नेपालसँग एकताबद्ध भएर उभिएको पनि उनले बताएका थिए ।

टेलिफोन कुराकानीका क्रममा मोदीले नेपालको राष्ट्रिय दिवस (संविधान दिवस)का अवसरमा शुभकामना व्यक्त गरेका थिए । ०७२ सालमा संविधान जारी भएको दिन असोज ३ गतेलाई नेपालले आफ्नो राष्ट्रिय तथा संविधान दिवसका रूपमा मनाउँदै आएको छ ।

प्रधानमन्त्री कार्कीले ७५औँ जन्मदिनका अवसरमा मोदीलाई बधाई तथा शुभकामना व्यक्त गरेकी थिइन् । उनले नेपाल र भारतबीचको ऐतिहासिक, घनिष्ठ, बहुआयामिक, जनता–जनताबीचको सम्बन्ध अझ सुदृढ हुँदै विश्वास व्यक्त गरिन् ।

दुवै प्रधानमन्त्रीले दुई देशका जनताको हितका निम्ति द्विपक्षीय सहयोग र साझेदारीको गतिलाई निरन्तरता दिने प्रतिबद्धता दोहोर्‍याएका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति