काठमाडौं । नायिका नीति शाह र कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाबिचको प्रेम चर्चा आज पनि हुने गर्दछ । तर, नीतिले बिबाह गरेर नयाँ जीवन सुरु गरिसकेकी छिन् । यता, सम्भवले पनि पूर्व मिस नेपाल श्रृङ्खला खतिवडासँग बिहे गरेर नयाँ जीवन सुरु गरिसकेका छन् ।
तर, जेनजीको आन्दोलनका क्रममा कान्तिपुर मिडियाको भवनमा आगजनी भएपछि नीति र सम्भवको प्रेमको बिषय फेरि चर्चामा छ ।
वि.सं २०७२ सालमा माइतीघरमा भएको कार दुर्घटनाको बिषय पनि चर्चामा आयो । सो समयमा सम्भवले कार चलाएको र त्यस भित्र नीति पनि रहेको बताइन्छ । तर, प्रहरीसँग यो घटनाको रेकर्ड केही पनि छैन ।
जेनजी आन्दोलनका क्रममा फेरि यो बिषय उठेपछि नीतिले सामाजिक संजालमार्फत स्पष्टीकरण दिएकी छिन् । उनले, इन्स्टाग्राममा लामो स्पष्टीकरण दिदै लेखेकी छिन्–‘म सम्भवसँग ८ वर्ष प्रेम सम्बन्धमा थिएँ । मेरो लागि त्यो सम्बन्ध सुखद थिएन । सम्बन्ध सकिएपछि म टुटेकी थिएँ र मलाई डरले सताउन थालेको थियो । म अहिले यो कुराबाट अगाडि बढिसकेकी छु । मलाई धम्की दिने, भिडियोमा ट्याग गर्ने वा कथित हिट एन्ड रन घटनाको हिस्सा भएको आरोप लगाउनेलाई अब अन्तिम पटक स्पष्ट पार्न चाहन्छु कि म त्यो समयमा कारमा थिइँन ।’
उनले, आफ्नो नाम त्यस्तो घटनासँग जोड्न बन्द गर्न पनि आग्रह गरेकी छिन् । नीतिले आफूलाई कसैसँग भने नराम्रो सम्बन्ध राख्ने सोच नभएको उल्लेख गरेकी छिन् । उनले, पुरानो कुरा र भिडियो अगाडि ल्याइएकोमा आफूलाई दुख लागेको पनि लेखेकी छिन् ।
नीतिले आफू अहिले विवाह गरेर नयाँ जीवनमा अगाडि बढेको स्पष्ट पारेकी छिन् । नीतिको यो स्पष्टीकरण शेयर गर्दै सम्भवले काठमाडौंका मेयर बालेन्द्र शाहले धरानका मेयर हर्क साम्पाङलाई लेखेको ‘तिमी मेरो चोखो प्रेम हौं’ बोलको स्टाटस राखेका छन् । सम्भवले नीतिको भनाइमा यस्तो स्टाटस किन राखे, यो भने उनले जान्ने कुरा भयो ।