काठमाडौं । ओमानले एसीसी टीट्वान्टी एसिया कपमा विश्व क्रिकेटको पावरहाउस भारतलाई स्तब्ध पार्नबाट २१ रनले चुकेको छ । समूह ए को अन्तिम खेलमा ओमान भारतसँग पराजित भएपनि प्रदर्शन उत्कृष्ट गर्न सफल भएको हो ।
जित्नलाई १ सय ८९ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६७ रन बनायो । ओमानका अनुभवी अलराउण्डर आमिर कलिमले ४६ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ६४ रन बनाए । हमाद मिर्जाले ३३ बलमा ५ चौका र २ छक्कासहित ५३ रन बनाए ।
दोस्रो विकेटलाई कलिम र मिर्जाले ९३ रनको साझेदारी गरेपछि ओमानलाई जित्नलाई अन्तिम १५ बलमा ४० रन चाहिँएको थियो । हर्षित रानाको बलमा हार्दिक पान्ड्याले उत्कृष्ट क्याच लिएपछि कलिम आउट भएका थिए ।
त्यसपछि भने ओमानले राम्रो ब्याटिङ गर्न सकेन । १९ औं ओभरमा हार्दिक पान्ड्याले ६ रन मात्रै दिएपछि ओमानको जित कठिन बनेको थियो । अन्तिम ओभरमा जित्नलाई ३५ रन चाहिँदा ओमानले १२ रन जोडेको थियो । अन्तिम दुई ओभर बाहेक अन्यमा भने ओमानको प्रदर्शन उत्कृष्ट रह्यो ।
ओमानलाई कप्तान जतिन्दर सिंह र अमिर कलीमले पहिलो विकेटलाई ८.३ ओभरमा ५६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । जतिन्दर कुलदीप यादवको बलमा बोल्ड आउट हुनुअघि ३३ बलमा ५ चौकासहित ३२ रन बनाए । त्यसपछि क्रिजमा आएका हमाद मिर्जा र कलिमले सानदार ब्याटिङ गर्दै एक समय जितको आशा दिलाएका थिए । दुबै ब्याटरले अर्धशतक प्रहार गरेपनि खेल अन्त्य गर्न भने सकेनन ।
भारतका अर्शदीप सिंह, हर्षित राना, कुलदीप यादव र हार्दिक पाण्ड्याले -११ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो । भारतका सन्जु स्यामसनले ४५ बलमा ३ चौका र छक्कासहित सर्वाधिक ५६ रन बनाए ।
ओपनर अभिषेक शर्मा १५ बलमा ५ चौका र २ छक्कासहित ३८, शुभमन गिल ५, हार्दिक पाण्ड्या १, अक्षर पटेल २६, शिबम दुबे ५, तिलक बर्मा २९ रन बनाए ।
भारतलाई विशाल योगफल बनाउनबाट रोक्न ओमानका फैसल शाहले ४ ओभरमा १ मेडनसहित २६ रन खर्चेर २ विकेट लिए । जितेन रमानान्दिले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । अमिर कलिमले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए ।