झापा । नगदे बाली अलैँचीको बजार भाउमा गिरावट आएको छ । नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष दीपक नेपालले शुक्रबार अलैँची प्रतिमन (४० किलो) विभिन्न ग्रेडअनुसार रु ८१ हजारदेखि रु ९२ हजारसम्ममा बिक्री भएको बताए ।
सबैभन्दा राम्रो गुणस्तरको ‘बोल्ड’ अलैँची अहिलेको बजार भाउ प्रतिमन ९२ हजार, सामान्य गुणस्तरको अलैँची ‘चालु’को भाउ ८१ हजार र मध्यम गुणस्तर अर्थात् ‘जेजे’ भनेर चिनिने अलैँचीको भाउ प्रतिमन ८४ हजार रहेको छ ।
भदौ पहिलो साता अलैँचीको बजार मूल्य प्रतिमन ९४ हजारसम्ममा अलैँची खरिद–बिक्री भएको थियो । नेपालको ४२ जिल्लामा अलैँची खेती हुने गरेको छ ।
कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, खोटाङ, भोजपुर र तेह्रथुम जिल्लामा अलैँची अत्यधिक खेती हुँदै आएको छ ।
अलैँची व्यवसायी महासङ्घका अनुसार कोशी प्रदेशको सात हजार ५०० हेक्टर र मुलुकभर १७ हजार हेक्टर क्षेत्रफलमा अलैँची खेती हुन्छ ।
नेपालमा यसको कुल उत्पादन आठ हजार मेट्रिक टनसम्म छ । उत्पादनको पाँच प्रतिशत मात्र घरेलु खपत भएकाले ९५ प्रतिशत उत्पादन विदेश निकासी हुँदै आएको छ ।
आर्थिक वर्ष २०८१–८२ मा पूर्वी नाका काँकडभिट्टा भएर रु सात अर्ब ६७ करोडको नेपाली अलैँची भारत निर्यात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।