विर्तामोड । झापाको मेचीनगर नगरपालिका–१ स्थित बाहुनडाँगीमा शनिवार बिहान एक माउ हात्ती मृत अवस्थामा फेला परेको छ।
करिब २२ वर्षको माउ हात्ती स्थानीय खेतको छेउमा, मृत अवस्थामा भेटिएको हो। प्रारम्भिक अनुसन्धान अनुसार हात्तीको मृत्यु करेन्ट लागेर भएको हुन सक्ने संकेत देखिएको छ।स्थानीय बासिन्दाहरूको अनुसार शनिबार बिहान खेततिर गएका एक किसानले हात्ती मृत देखेपछि डिभिजन वन कार्यालयलाई खबर गरेका थिए।
शव भेटिएको स्थान वरपर विद्युतीय तारहरूको अव्यवस्थित जाल रहेको र केही स्थानमा खुला करेन्ट प्रवाह भइरहेको हुनसक्ने भएकाले अनुसन्धान सुरु गरिएको बताइएको छ ।स्थानीयका अनुसार बाहुनडाँगीमा हात्तीहरू प्रायः आइरहन्छन् । विभिन्न निकायका वन अधिकृत, प्राविधिक, र प्रहरी टोली घटनास्थलमा खटिएका छन्।
वन कार्यालयले वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत अनुसन्धान अघि बढाएको छ।झापा क्षेत्र विशेषगरी बाहुनडाँगी, कचनकवल, बुद्धशान्ति लगायतका स्थानहरू मानव–हात्ती द्वन्द्व का उच्च जोखिमयुक्त क्षेत्र हुन्।वन फडानी र जनसंख्या वृद्धिका कारण हात्तीहरूको बसोबास क्षेत्रमा अतिक्रमण बढेको छ। यसले गर्दा हात्तीहरू बस्ती नजिकै आइपुग्ने, बाली खपत गर्ने र कहिलेकाहीँ आक्रमण गर्ने घटना बढ्दो छ।