काठमाडौं । बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दशैं अवधिभर ठूला भारवाहन सवारी साधनहरू (१२ चक्के र सोभन्दा माथि) सञ्चालन नहुने भएको छ ।
शनिबार दिउँसो भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलपछि सो सडकखण्डमा दशैंको अवधिभर यात्रुबाहक सवारीहरूको चाप बढ्ने भएकाले ठूला भारवाहन सवारी साधनलाई रोक लगाउने निर्णय भएको हो ।
त्यसका लागि सम्बन्धित पक्षलाई आग्रह गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।
ऊर्जा र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका भौतिकमन्त्री कुलमान घिसिङको सचिवालयले दिएको जानकारी अनुसार, खाद्यान्न लगायतका अत्यावश्यक सामाग्रीहरू ढुवानी गर्ने सवारी साधनलाई भने निरन्तर आवागमन हुने व्यवस्था गर्ने निर्णय भएको छ ।
गत असारमा पनि यो सडकखण्डमा वर्षापछि भएको हिलोका कारण दुई दिनसम्म सवारी आवतजावतमा समस्या भएको थियो ।