दशैँ,उमङ्ग, उत्साह र बाल्यकालको स्मृति

nepalish-add

दशैँ शब्द कानमा गुञ्जिनेबित्तिकै मनमा असीम उमङ्ग र उत्साह जाग्दथ्यो। जब मेरो उमेर अरूको सहारा र संरक्षणमा रम्ने र रमाउने थियो, त्यसबेला हर्षको कुनै सीमा नै हुँदैनथ्यो। वर्षभरि प्रतीक्षा गरेपछि आउने दशैँ, त्यसमाथि पनि गाउँघरको त्यो छुट्टै रमाइलो वातावरण।।

घर र बारीभरि ढकमक फुलेका फूलहरूको सुगन्ध, दशैँ विशेषमा घरको नयाँ सजावट र दृश्यले मनलाई मोहित पार्दथ्यो। आफूसँग मिल्ने बालापनका साथीहरू संगको त्यो मिठो गफ, नयाँ कपडा लगाउने,जानी न जानी पिंग मा मच्चिने र मामाघर जाने योजनाले मेरो हृदयलाई प्रफुल्लित तुल्याउँथ्यो।

वास्तवमा, दशैँको वास्तविक आनन्द र पूर्णता त त्यही कलिलो बाल्यकालको उमेरमा नै भेटिँदो रहेछ,जतिबेला मनमा न कुनै पीर, न कुनै दुःख, न कुनै जिम्मेवारीको बोझ हुन्थ्यो,केवल खुशीको सागरले भरिएको हुन्थ्यो।

जिम्मेवारीको ओज र घट्दो उत्साह

समयको गतिसँगै उमेर बढ्दै जाँदा र जीवनका दायित्वहरू थपिँदै जाँदा, त्यो बाल्यकालको निष्फिक्री रमाइलो र खुशीभन्दा बढी जिम्मेवारीको ओजले मनलाई घेर्दै जाँदो रहेछ। त्यसैले त, अहिले त्यो बालापनको अविस्मरणीय रमाइलो सम्झना मात्रले पनि मनमा उमङ्गको सञ्चार हुने गर्छ।

बाल्यकालमा दशैँ केवल एउटा पर्व थिएन, त्यो त सपनाहरू साकार हुने उत्सव थियो।

दशैँ बालक, युवा, वृद्ध सबैका लागि आउने महान् चाड हो। तर, यस पर्वमा बालबालिकाले जति उत्कृष्ट र भरपूर आनन्द लिन्छन्, त्योभन्दा केही कम युवावर्गले र युवाभन्दा अझ कम वृद्धवृद्धाले रमाउने गर्छन्।

उमेरअनुसार मनस्थिति र परिस्थितिले रमाइलो गर्ने तरिकामा भिन्नता ल्याउँदो रहेछ।

दशैँको महत्त्व र पारिवारिक मिलन

हिन्दू धर्मावलम्बीहरूका महान् चाडपर्वहरूमध्ये दशैँलाई सबैभन्दा महत्त्वपूर्ण चाडको रूपमा लिइन्छ। यो महान् पर्वले परिवारमा धेरै नै उमङ्ग र सकारात्मक ऊर्जा ल्याउने गर्छ। अझ बालबालिकाका लागि त यो उल्लास र मनोरञ्जनको खानी नै हो।

पिङ खेल्ने आनन्द लिने, नयाँ कपडा किन्ने, टीका लगाउने, आशीर्वाद थाप्ने र मामाघर जाने जस्ता कुराले उनीहरूको हृदय नै प्रसन्नताले भरिन्छ।

त्यसैले, दशैँमा पूर्ण रूपमा रम्ने र खुशी हुने चाहना अत्याधिक रूपमा बालापनमै हुने गर्छ। यो त्यो सुनौलो उमेर हो, जतिबेला मन निष्कपट हर्षले भरिपूर्ण हुन्छ र जीवनका साधारण कुराहरूमा पनि असाधारण खुशी भेटिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

Sita Kharel
सीता खरेल

ताजा अपडेट

EPIC

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found